ढिडो रेस्टुरेन्ट
- प्रकाश थापामगर
“ढिडो रेस्टुरेन्ट ।”
सहरमा आजभोलि यो नाम थुप्रै ठाउँमा पाउन सकिन्छ । त्यसो त यो नाममा कुनै पनि प्रकारको अनौठोपना छैन ।
तर कल्पना गर्नुहोस्, गाउँघरमा निममित ढिडो खाइरहेको साक्षर व्यक्ति जब सहर छिर्छ र देख्छ– “ढिडो रेस्टुरेन्ट”, तब उसको मथिङ्गलले यसबारे के प्रतिक्रिया देला ?
“ढिडो रेस्टुरेन्ट” अर्थात् ढिडो पाक्ने रेस्टुरेन्ट ।
यहीँनेर जोसुकैले प्रश्न उठाउन सक्छ, ढिडो पाक्नेजति सबै भान्सालाई “ढिडो रेस्टुरेन्ट” मान्न सकिन्छ ?
पक्कै पनि मान्न सकिन्न ।
त्यसो हो भने “ढिडो रेस्टुरेन्ट” नाम किन राखेको त ?
कुरालाई यतिविघ्न नबङ्ग्याइकन सिधै प्रस्तुत गर्न सकिन्छ; यसरी :
ढिडो हाइब्रिड अर्थात् वर्णशङ्कर हुँदैन । आजसम्म हाइब्रिड कोदो अस्तित्वमा आइसकेको छैन । सत्य हुन सक्छ, भविष्यमा कोदोको पनि हाइब्रिड स्वरूप आइसक्ला । तर हालसम्म कोदोको हाइब्रिड कोदो आइसकेको छैन ।
अर्को कुरा, कोदोमा विषादि प्रयोग गरिँदैन; अर्थात् कोदोको खेती गर्दा मल र किटनासक औषधि प्रयोग गरिँदैन ।
यसको सम्भावनाको बारेमा पनि माथिकै कुरा भन्न सकिन्छ– भविष्यमा विषादि र किटनासक औषधि प्रयोग गरिएला । तर अहिलेसम्म प्रयोग गरिसकिएको छैन ।
यस अर्थमा ढिडो अर्गानिक खाद्य पदार्थ हो र यस्तै अर्गानिक खाद्य पदार्थ पाक्ने भान्सा त्यहाँभित्र पाक्ने भएकाले “ढिडो रेस्टुरेन्ट” शीर्षक जुराइयो होला ।
यद्यपि “ढिडो रेस्टुरेन्ट” नामकरण नगरिएका रेस्टुरेन्ट÷होटलमा पनि ढिडो पाक्दछन् । तर यस्ता ठाउँमा प्रष्ट देखिने गरी लेखिएको हुन्छ– ‘यहाँ ढिडो पकाइन्छ ।’
अथवा यस्तै यस्तै अरू पनि लेखिएको हुन सक्दछ– “यहाँ ढिडो र गुन्द्रुकको परिकार उपलब्ध छ”, “यहाँ ढिडो र खसीको मासु पाइन्छ”, “यहाँ ढिडो र माछाको परिकार पाइन्छ,” आदि आदि ।
यस सन्दर्भमा मेरो सुझाव छ– जहाँ यसरी व्याख्या गरेर सूचना लेखिएका छन्, ती ठिक छन् । तर जहाँ “ढिडो रेस्टुरेन्ट” लेखिएका छन्, त्यहाँ पनि माथिका सूचना उपशीर्षक बनाएर लेखिनुपर्दछ ।
आखिर सूचना प्राप्त गर्नु आम नागरिक हक हो भन्ने तथ्यलाई कसले अस्वीकार गर्न सक्छ ?