कविता

बच्चामाकुरा

–१– 
हुन्छ नरम जिउको
ऊ जन्मिएको हुन्छ
चट्टानी शङ्खे आवरणभित्र
तर, आजभोलि
चट्टानी शङ्खेआवरणबाट
जेल जीवनको बिरासतबाट
फुर्ती लगाउँदै बिरासतको
फुत्त निस्कियो बाहिर
शङ्खेकिरा ।

बाहिर निस्कँदासाथ उसले
ग¥यो पहिलो काम–
फो¥यो त्यही चट्टानी शङ्ख
जसले जन्म दिएको थियो उसलाई
घाम, पानी, चिसो र दुस्मनबाट सुरक्षा
र, दिएको थियो–
नायकीको बागडोर पनि
आफू गर्भमा बसेको त्यही शङ्ख
चकनाचूर पारेकोमा
अट्टहास गरिरहेछ ऊ
चौबिसै घण्टा बोलिरहेछ
धम्कीको भाषा ।

शङ्ख बेठिक हो कि
शङ्खेकिरा दुष्ट हो ?

पाँच वर्षअघि जब बन्यो शङ्ख
भनिएको थियो त्यतिखेर
अब त्यसले जन्माउने छ
नम्र शङ्खेकिरा
जसले सेवा मात्रै गर्ने छ
शिर निहुराएर
तर, किन यति ज्याद्रो भयो
एक्काइसौँ शताब्दीको यो शङ्खेकिरा ?

“समृद्धि र समाजवाद”
“समृद्ध नेपाल, सुखी नेपाली”
पीतमिश्रित रातो जिब्रो फट्कार्दै
आज त्यही शङ्खेकिरा
भइरहेछ कठोर एकाएक ।

–२–
ओहो ! दृष्टिभ्रम
यो त रहेनछ शङ्खेकिरा
जसले रक्षा गथ्र्यो शङ्खको
ती त रहेछन् बच्चामाकुरा ।

हो, त्यही बच्चामाकुरा
जसले, जन्मँदासाथ
पहिला खान्छन् आफ्नै आमालाई ।

हो, त्यही बच्चामाकुरामध्ये
एउटा नाइके बच्चामाकुरा यतिखेर
खाइरहेछ आमालाई
जुन आमाले दिएकी थिइन्
जन्म उसलाई
तीन वर्षअघि ।

हो, त्यही नाइके बच्चामाकुरा
खाइरहेछ आफ्नै आमालाई
जननिर्वाचित प्रतिनिधि सभा ।

त्यति मात्रै होइन
ताण्डवनृत्य गरिरहेछ
मातृरक्त सेवन गरेर
उन्मत्त हुँदै छ ।

२०७७ पुस २८
काठमाडौँ

चतुर्मुखी सिंह

ए सम्राट अशोक !
तिमीले परिकल्पना गरेको
चतुर्मुखी सिंह
यतिखेर बेलगाम भएर
डौडिरहेको छ चारैतिर ।

तिम्रो समय बेग्लै थियो
थिएनन् त्यतिखेर कुनै राष्ट्रको सिमाना
न पलाइसकेको थियो
आधुनिक राष्ट्रको अवधारणा
तर तिम्रो चतुर्मुखी सिंह
बेलगाम शिकार गरिरहेछ
आफूलाई जङ्गलको राजा ठानिरहेछ ।

हिमालय देशमा मृगहरू
सिन्धुदेशका मृगहरूलाई
ठान्छन् आफ्नै छिमेकी
घरि यता चर्छन्
घरि उता चर्छन्
उनीहरू फरक ठान्दैनन् एकर्कालाई
तर तिमी साधुसन्तको भेषमा
गरिरहन्छौँ शिकार निर्मम
हिमालय देशको करेसामा ।

ए चतुर्मुखी सिंह !
हेर जगत् र समयलाई
जहाँ बसिरहेछौ तिमी
जसलाई ठानिरहेछौ तिमी
घरघोर जङ्गल
र, ठानिरहेछौ
आफूलाई त्यो जङ्गलको राजा
तर, त्यो कुनै जङ्गल होइन
निर्जन, निस्तब्ध र अन्धकार
त्यो त हो– आरक्ष
जसको सञ्चालन गर्छन्
तिनै करोडौँको मृगहरूले
तर ती मृग
छैनन् निरपराध, निःसहाय
बरु तिनीहरूसित छ
बलियो हतियार–
स्वतन्त्रता, समानता, भ्रातृत्व
स्वाभिमान, स्वाधीनता र मुक्ति ।

ए चतुर्मुखी सिंह !
हेर समय र जगत्लाई
जताततै छन् तिनै मृगहरू
खोज्दै राष्ट्रिय स्वाधीनता
त्यो तिम्रो जङ्गलराज
आज सकियो—भोलि सकियो
सकियो जङ्गलतन्त्रको युग
पहिल्यै पो सिद्धिइसक्यो ।

लोकतन्त्रको समय

यो समय हो लोकतन्त्रको
तर तिमी हाँस्न सक्दैनौँ
किनकि मलाई थाहा छ
तिम्रो हाँसो क्षणिक हो
कृतिम हो
निष्कपट र लामो हाँसो हाँस्न त
तिमी आफै हुनुपर्ने छ सबल
शारीरिक, मानसिक
र, आर्थिक रूपमा ।

यो समय हो लोकतन्त्रको
तर तिमी रुन सक्दैनौँ
किनकि मलाई थाहा छ
रुने फुर्सद नै कहाँ छ तिमीसित ?
निर्धक्क र धीत मरञ्जेल रुन त
सबल हुनुपर्ने छ शरीर
र, हुनुपर्ने छ फुर्सद ।

यो समय हो लोकतन्त्रको
तर बोल्न सक्दैनौँ तिमी निर्धक्क
धेरै औपचारिकता छन् तिमीसामु
हाँस्नु र रुनुभन्दा
बाध्यताको
अनुशासनको
र, लोक–लोकाचारको
त्यसैले तिमीले सोच्नुपर्ने छ
बोल्नुभन्दा अगाडि
बोलेपछिको परिणाम के हुने छ भनेर ।

यो समय हो लोकतन्त्रको
तर तिमी स्वतन्त्र छैनौँ
हाँस्न, रुन र बोल्न
त्यसका लागि कमी एउटै छ
तिमी उभिएका छैनौँ आफ्नो खुट्टामा
जबसम्म उभिन्नौँ आफ्नो खुट्टामा
स्वतन्त्रताको कुनै अर्थ छैन
फेरि पनि भनिन्छ
यो समय हो लोकतन्त्रको ।

स्वार्थीपन

जब आउँछ भूकम्पजस्ता विपत्ति
छोड्छन् मान्छेहरू काठमाडौँ
जब आउँछ चाडपर्व
छोड्छन् मान्छेहरू काठमाडौँ
जब आउँछ महामारीका हल्ला मात्र
छोड्छन् मान्छेहरू काठमाडौँ
स्थार्थी– काठमाडौँ कि मान्छे ?

गर्मी भए काठमाडौँमै बस्ने
जाडो भए तराई झर्ने
फलफूल चाहिए मोफसल ताक्ने
अन्न चाहिए फाँटतिर हेर्ने
अनि काठमाडौँका
उब्जाउ जमिन मासी घर बनाउने
स्थार्थी– काठमाडौँ कि मान्छे ?

कपडा चाहिए विदेश हेर्ने
पैदल हिँड्नै नखोज्ने
बाइक र चिल्लाकार खोज्ने
त्यो पनि विदेशी मोडेलकै
पैदल हिँड्नेलाई
फोहर उठाउनेलाई
धुलोको पर्वाह नगरी सडकमा
रातदिन पसिना बगाउनेलाई
खाते भन्ने
स्वार्थी– काठमाडौँ कि मान्छे ?

सुखजतिको नक्कल गर्ने
सुविधाजति आयात गर्न खोज्ने
वैभव र इतिहास बिर्सेर
पाटन, भादगाउँ र कीर्तिपुरको
आफूलाई शहरिया ठान्ने
र, ठान्ने आधुनिक
आफूलाई बनाउँदै परनिर्भर
लिइरहने आत्मरति
युगौँयुग रुमल्लिइरहने पराधीनतामा
ए मेरो काठमाडौँ र काठमाडौँवासी
स्थार्थी– काठमाडौँ कि मान्छे ?

लकडाउन

धनीहरू ढुक्क
उनीहरूसित छ संसार
घरभित्र सिङ्गै बजार
“चिन्ता छैन केही” ।

मध्यमवर्ग त्रसित
भएभरको थुपार्ने मनस्थितिमा
आशङ्का– कतै मरिने पो हो कि ?
मध्यमवर्गको अर्को तप्का
व्यापारी
कालोबजारीमा व्यस्त
“अभी नहीं तो कभी नहीं” ।

सरकार चुनावी तालमा
चुनावी भाषण झैँ घोषणा
पूरा गर्नैनपर्ने
‘खाद्यान्नको अभाव हुन्न’
भोलिपल्टै अर्को घोषणा–
‘उपभोक्ताको घरघरमै खाद्यान्न ढुवानी’
तर सपिङ जिम्मा मललाई
सरकार भन्छ–
‘ग्याँसको अभाव छैन’
सडकमै ग्याँस बेच्दै रिहर्सल पनि
अब आधा सिलिन्डर ग्याँस
‘गरिरहेकै त छौँ नि’ ।

गरिब र निम्नमध्यम वर्ग
तमासे, बाध्य र लाचार
सरकारतिर हे¥यो–
घोषणाको भरमार
व्यापारीतिर हे¥यो–
कालोबजारीको मार
हात लाग्यो शून्य

सरकार !
के यही लकडाउन ?

डेङ्गु र मजदुर

स्वास्थ्य विभागले जारी ग¥यो सूचना–
‘बिहान ९ देखि १२ बजेसम्म
साँझ ३ देखि ७ बजेसम्म
डेब्गु लामखुट्टे सक्रिय रहन्छ
सतर्क रहनू’ ।

त्यत्ति नै बेला
विभाग कार्यालयको अर्कोछेउ
उजाडलाग्दो मन्दिरको हाताभित्र
एउटा मजदुर तयारी गर्दैथियो
केही समय आराम गर्न
भक्तजनले हजारौँपटक कुल्चेका
एउटा टुक्रा कार्पेट
एकछेउमा अलपत्र परिरहेको
धुलाम्य र च्यातिएको टालो
त्यही कार्पेट बिच्छ्याएर
त्यही टालो ओढेर
आराम गर्ने असफल प्रयास ग¥यो उसले
तर सफल हुन सकेन ऊ
टाउको ढाक्दा तिघ्रा रित्तै
तिघ्रा ढाक्दा टाउको रित्तै ।

साँझको बज्दैथियो ठिक पाँच
फर्किएको थियो मजदुर कामबाट
भर्खरै
पसिना पसिना भएर
नामी शहर काठमाडौँको
बागमती किनारमा झुपडी उसको
आराम गर्न पाइँदैनथ्यो त्यतिबेला
केटाकेटीको चिच्याउँदा भनेर
आराम गर्न चाहेको थियो ऊ
तर थाहा थिएन उसलाई
स्वास्थ्य विभागको त्यो सूचना–
‘बिहान ९ देखि १२ बजेसम्म
साँझ ३ देखि ७ बजेसम्म
सक्रिय रहन्छन् डेब्गु लामखुट्टे
सतर्क रहनू’
जसले फैलाउने छन् डेब्गु महामारी ।

स्वास्थ्य विभागको सूचना बेवास्ता गरेर
दिनभरिको थकाइबाट मुक्ति पाउन
आराम गर्न खोजिरह्यो मजदुर
धुलाम्य मन्दिरको हाताभित्र
वास्ता थिएन उसलाई डेब्गुको
टालोले टाउको ढाकेर
सोच्यो मनमनै उसले
‘बाँचेकै के छु र म
डेङ्गुसित डराउनुपर्ने ?'

इतिहास र मान्छे

इतिहास
रेल होइन कि
निश्चित ठाउ“बाट सुरु हुने
बीच बीचमा निश्चित ठहराव
ठहरेको ठाउ“बाट यान्त्रिक यात्रा सुरु
तर रेलले पनि
इतिहासको झल्को दिन्छ
निर्धारित समयमा नचलेर
तर, त्यसको अर्थ
होइन इतिहास विलम्बको यात्रा ।

मान्छेको जीवन र इतिहास
यस्तो लाग्दछ कि
हि“ड्छन् स“गस“गै
तर बेवास्तापूर्ण
एकले गर्दैन अर्कोको वास्ता
मान्छे सजीव, जीवन्त
तर इतिहास निर्जीव, मृत
फेरि पनि
एकले अर्कालाई सिकाउन खोज्छन् पाठ
इतिहासले मान्छेलाई बताउ“छ–
भावुकतामा रनभुल्ल नपर
तिम्रो यात्रा नियमानुशासित छ
मान्छे भन्छ– इतिहासलाई
तिमी यान्त्रिक छौ
तिमी बनाइएका हौ अरूद्वारा
म तिम्रो स्वरूपलाई बदल्न सक्छु
थाहा छैन
मान्छेले बदल्छ इतिहासलाई वा,
इतिहासले बदल्छ मान्छेलाई ?

तर इतिहास निर्जीव र यान्त्रिक भए पनि
मानिसलाई नियन्त्रित गरे जस्तो छ
भनिन्छ, इतिहासले हरेकलाई दिन्छ
मौका एक पटक
मानिसले पाउन सक्छ मौका पटक पटक
तर पहिलो मौका हो निर्णायक
आफ्नो क्षमता सावित गदैन भने
त्यसपछिका मौका हुन्
इतिहासका लागि अरुचिकर वा,
मानिसको प्राविधिक प्रयत्न
इतिहासले दिन्छ चुनौती कि
आफ्नो क्षमता सावित गर
अन्यथा, अर्को मौका निरर्थक
तर, मानिसको पनि आफ्नै हुन्छ धुन
बेपरवाह
लाइनमा बस्ने होइन
आफू पछाडि लाइन उभ्याउन खोज्ने
यस्तालाई इतिहासले ल्याइदिन्छ
लुडोको खेलमा झै“
सन्तानब्बेबाट आठमा ।

तिनै मान्छे खरो उत्रिन्छन् इतिहासमा
जसले इतिहासको मौकालाई
सम्झिन्छन् अन्तिम र निर्णायक
मौकामा देखाउ“छन् पूरा क्षमता
आफूलाई निया“ल्छन्
शीरदेखि पाउसम्म र,
इतिहासबाट आफूलाई
परख गर्छन्, निरीक्षण गराउ“छन्
उन्निसबाट बिस, बिसबाट एक्काइस
घेराभन्दा माथि उठेर
समाउन खोज्छन् जलिरहेको सूर्यलाई
तर, त्यसो गर्दा
राख्छन् पैतलालाई जमिनसित टा“सेर
उनीहरू ख्याल राख्छन्
इतिहासको यो शिक्षा कि,
जन्मभूमिबाट अलग भएर
जितेको छैन कसैले युद्ध
कायम राखेको छैन अस्तित्व ।

इतिहास र मान्छे
मान्छे र इतिहास
पहिलो को हो ?
नटुङ्गि“ने विवादका बीचबाट
मान्छेले बुझ्नु छ–
‘एक युगमा एक दिन एक पटक मात्र आउ“छ’
एक दिन वा एक मौका
जीवन–मरणको प्रश्न वा,
अन्तिम प्रहरको युद्ध
जसलाई जित्नु छ हरहालतमा
अन्यथा
उसको पनि रहने छैन नामोनिशान ।

गजल

दशैंको नाममा खसी, रांगाहरूको स्वाहा भयो
स्वादको नाममा वलीको विरोध कहा“ गयो ?

आखिर मिठो खाना खानु नै चाड रहेछ
निराजन र लोहाभिसारको चर्चा कहा“ गयो ?

सम्बन्ध वलियो बनाउने भन्दै लगाइए टीका
रामको लङ्का विजयको कथा कहा“ गयो ?

दशैं हिन्दू चाड हो कि प्रकृति पूजा
छलफल, चरिचर्चा भएनन्, कहा“ गयो ?

रङ्गिए दशैंको रङमा सबै विचारहरू
रुढिवादविरोधी आवाजहरू कहा“ गयो ?

No comments:

Post a Comment