“बाबा, आप माग तो सकते हैं”
भनिन्छ, जति नेपालको जनसङ्ख्या छ, त्यति त भारतमा भिकारीको जनसङ्ख्या होला । यस भनाइमा कति सत्यता छ ? त्यसका लागि त नेपाल र भारतको तथ्याङ्क हेर्नुपर्ला । अहिले त्यो झञ्झट नगरौँ ।
यो सत्य हो, भारतमा भिकारी यति सार्वभौम र सर्वव्यापक छन्, त्यहाँका निवासीले हिँड्दा र बस्दा दुवै अवस्थामा भिक दिनैपर्ने हुन्छ । तर यहाँ गर्न खोजेको कुरा सडकमा गरिबी देखाएर माग्नेको होइन, बरु हिन्दु धर्मको नाममा माग्नेहरूको हो ।
शायद जोगीहरूको मगन्तकार्यलाई भिकारीको समतुल्य मान्न नसकिएला । कारण– उनीहरू निश्चित आस्थामा समर्पित भएकाले भिक्षा मागेर जीवन गुजारा चलाउनु उनीहरूको जीवन दर्शन हो । त्यसका लागि उनीहरू गल्ली गल्लीका घर घरसम्म पुगेर मागिरहेका हुन्छन्, हिउँद–बर्खा, बाह«ै महिना, सातै दिन ।
प्रसङ्ग त्यतिखेरको हो, जतिखेर कार्यालयमा अर्थात् मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय बदरपुर बोर्डर (नयाँदिल्ली) मा म र पदम केसी मात्र स्टाफको रूपमा बस्दथ्यौँ ।
प्रत्येक दिन बिहानदेखि साँझसम्म कोही न कोही जोगीलगायत अरू पनि माग्न आइहाल्थे । उनीहरूले माग्नका लागि कार्यालयको फलामको ढोका (गेट) बजाउँथे । धेरै बेरसम्म प्रतिक्रिया नपाएमा जान्थे पनि ।
एक दिन एक जना जोगीले आवाज लगाए– “अलख निरन्जन ¤”
भित्र रहेका हामी दुईले सुनेको नसुन्यै ग¥यौँ । त्यसपछि ती जोगीले फेरि “अलख निरन्जन ¤” भन्दै फलामको गेट ढक्ढक्याउन थाले ।
केही मिनटसम्मै ढोका ढक्ढक्याएपछि पदमजी उठ्नुभयो र सरासर गेटतिर जानुभयो । म पनि उहाँको पछि पछि लागेँ ।
अलिकति गेट खोलेर पदमजीले जोगीको कानमा खुसुक्क भन्नुभयो– “बाबा, आम माग तो सकते हैं, हम तो माग भी नहीं सकते ।”
पदमजीको कुरा सुनेर जोगी एक छिन त अवाक् भए । त्यसपछि कुरा बुझेर अगाडि बढे । हामी दुई जना पेट मिची मिची हाँस्यौँ । एकैदिनमा पटक पटक माग्न आइरहने जोगीलाई ठिक पार्ने पदमजीको त्यो तरिका अनौठो, सिर्जनात्मक र व्यङ्गात्मक थियो । स्वीकार गर्नुहुन्छ तपाई ?
................................................................
सबै कम्युनिस्ट अर्घाखाँचीका
हामी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयका स्टाफ, बदरपुर बोर्डर (नयाँदिल्ली) का । त्यतिखेर जयलाल शर्मा र म कार्यालयमा थियौँ ।
फिल्डमा जिम्मा भएका एक जना साथी हुनुहुन्थ्यो । उहाँलाई आफ्नो जिल्लाका साथीहरू सङ्गठनमा लागेकोमा गर्व थियो । उहाँको त्यो मनोवृत्तिले सङ्गठनलाई फाइदा नै पुगेको थियो । ती जिल्लाका साथीहरूलाई उहाँले खोजी खोजी सङ्गठित गर्नुहुन्थ्यो । त्यस कार्यमा उहाँ पूरै समर्पित हुनुहुन्थ्यो ।
एक दिन ती साथी फिल्डबाट पसिना पसिना हुँदै कार्यालयमा आइपुग्नुभयो । पानी खाइवरि सङ्गठनका गतिविधिबारे सामान्य छलफल भयो ।
त्यसै क्रममा उहाँले भन्नुभयो– “कम्युनिस्ट पार्टीमा सबै मान्छे अर्घाखाँचीका छन् ।”
उहाँले त्यति भन्न के भ्याउनुभएको थियो, जयलाल शर्माजीले अर्को प्रश्न तत्कालै सोझ्याइहाल्नुभयो– “साथी, बोल्सेभिक पार्टीमा पनि अर्घाखाँचीका मान्छेहरू थिए ?”
त्यसपछि त जोडदार हाँसो गुञ्जियो । हामी सबै हाँस्यौँ खुलेर । उहाँ आफैले पनि हाँसो रोक्न सक्नुभएन ।
वास्तवमा उहाँले दिल्लीवरपरको सङ्गठनमा अर्घाखाँचीका साथीहरूको बाहुल्यता छ भन्न खोज्नुभएको थियो । तर हतारमा बोल्दा उहाँले तथ्यलाई प्रष्ट्याउन सक्नुभएन । त्यसले गर्दा त्यो अधुरो वाक्यले एकाएक हास्यरस उत्पन्न गरेको थियो ।
................................................................
असी लाखमध्ये तपाई कुन नेपाली ?
त्यतिखेर अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय एफ–५६, हर्केशनगर (नयाँदिल्ली) मा थियो । बदरपुर बोर्डरमा केन्द्रीय कार्यालय भवन बनेपछि सङ्गठनको नाम परिवर्तन भएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भएको थियो ।
त्यतिखेर कार्यालयमा फोन र फ्याक्स दुवै थियो । साथीहरूले एकता समाजको गतिविधि, नयाँ कार्यक्रम, नेपालतिरको ताजा खबर, आपत् बिपत्लगायतबारे जानकारी लिनका लागि केन्द्रीय कार्यालयमा नियमित फोन सम्पर्क राख्दथे ।
त्यो बेला आजभोलिको जस्तो वेबसाइट र सामाजिक सञ्जालको भरमार थिएन । सञ्चार, सम्पर्कका लागि भारतमा पोस्टकार्डदेखि टेलिग्रामसम्मको प्रचलन कायमै थियो । छोटो छोटो सूचना आदान प्रदानका लागि मात्र फोनमा कुराकानी हुन्थ्यो । केही लामा कुराकानीका लागि चिठीमा नै भर गर्नुपर्दथ्यो ।
साथीहरूले भारतभरिबाट फोन गर्नुहोला भन्ने ठानेर हामीमध्ये एक जना साथी अनिवार्य रूपमा फोनको ड्युटी खटिनुपर्ने हुन्थ्यो ।
त्यतिबेला म उत्ति केन्द्रीय कार्यालयमा आएको थिएँ, मध्यभारत क्षेत्रीय समितिबाट होलटाइमरको जिम्मा परिवर्तन भएर । कार्यालयमा सिनियर जयलाल शर्माजी नै हुनुहुन्थ्यो । प्रायः फोन उहाँले नै उठाउनुहुन्थ्यो ।
एक दिन ओखलाबाट एक जना साथीले फोन गर्नुभयो ।
फोनको घण्टी बजेपछि जयलालजीले फोन उठाएर भन्नुभयो– “नमस्कार, अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयबाट म जयलाल शर्मा ।”
उताबाट पनि नमस्कार फर्काइयो ।
जयलालजीले भन्नुभयो– “यहाँको शुभनाम के होला ? कहाँबाट बोल्नुभयो ?”
उताबाट जवाफ आयो– “म नेपाली बोलेँ ।”
जयलालजीले भन्नुभयो– “भारतमा ८० लाख नेपाली छन् भन्छन् । तपाई तीमध्ये कुनचाहिँ नेपाली बोल्नुभयो ?”
जयलालजीको यो संवादबाट मैले हाँसो रोक्न सकिनँ । जयलालजी पनि आवाज बिना नै हाँस्नुभयो । फोन संवाद चलिरहेकै बेला मजसरी जयलालजी हाँस्न सक्नुहुन्नथ्यो ।
पछि ती साथीले बल्ल परिचय दिनुभयो– “म रामबहादुर नेपाली, ओखलाबाट ।”
................................................................
“पूरे आदमी के ७० पोइन्ट”
गर्मीको समय थियो, त्यो पनि नयाँदिल्लीको । कमल खनाल र म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय बदरपुर बोर्डरनजिकैको बजारतिर थियौँ । गर्मीबाट राहत पाउनका लागि हामीले चिसो पिउने निधो ग¥यौँ । हामी चिसो पिउने मन बनाएर मिठाई पसलमा गयौँ ।
पसलको टेबुलमा बस्नासाथ पसले सोधिहाले– “क्या लेंगे ?”
“स्प्राइट, दो बोटल” हामीले भन्यौँ ।
उनले पसलमा काम गर्ने एउटा कामदारलाई दो बोतल स्प्राइट ल्याउन अह«ाए । मिठाई पसल भएकाले उनले खासै चिसोका बोतल राख्दा रहेनछन् ।
कामदार स्प्राइट लिन नजिकैको पसलतिर गए, तर त्यहाँ पुग्दानपुग्दै उनले बिर्सेछन्, कुन चिसो ल्याउनुपर्ने हो ?
“उस्ताद जी, क्या लाना है ?” कामदारले सोधे ।
“सप्राइट, सप्राइट, दो बोटल” उनले हामीतिर फर्केर भने– “इसके बाह« पोइन्ट कम है ¤”
हामीले पूरै कुरा बुझेनौँ । फेरि पनि पसलेको कुराप्रति त्यत्तिकै सहमति जनायौँ ।
पसलमा अर्का कामदार पनि थिए । भाँडा माझिरहेका ती कामदारलाई पनि मालिकको कुराले आकर्षित गरेछ ।
उनले सोधे– “वैशे उस्ताद जी, आदमी के कितने पोइन्ट होते है ?”
“सत्तर पोइन्ट होते हैं, पूरे सत्तर (७०), इसके उसमें से बाह« कम है” उनले जवाफ दिए ।
उनका कुरा सुनेर कामदार पनि खितखिताएर हाँसे, हामी पनि हास्यौँ । तबसम्म पनि स्प्राइट लिन गएका ती कामदार अझै आइपुगेका थिएनन् ।
पसले हरियाणी थिए । हरियाणीमा हास्यरस भरपूर हुन्छ भन्ने सुनेका थियौँ, प्रत्यक्ष भोग्यौँ पनि । आज पनि कतै स्प्राइट पिउने मौका मिल्यो भने आफैलाई सोध्न मन लाग्छ, हामी कति पोइन्टका हौँ ?
................................................................
“पर्खनुस्” भन्दा झण्डै झगडा
२०५६ सालमा अखिल नेपाल किसान सङ्घले देशव्यापी रूपमा दोस्रो चरणको जिल्लास्तरीय किसान मार्च आयोजना गरेको थियो । त्यतिखेर म अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय सदस्य थिएँ । केन्द्रीय सदस्यको हैसियतले म पूर्वी भारतको सो अभियानमा सहभागी भएको थिएँ ।
झापा, मोरङ, सुनसरी र इलामको अभियान सकेर हामी केही साथीहरू धनकुटा पुगेका थियौँ । शायद हिलेमा होला, हामी साँझ त्यहीँ बास बसेका थियौँ ।
हामी बसेकोभन्दा दुई÷चार घरअगाडि खाना पाक्दै थियो । खाना पाक्दासम्म हाम्रो टोलीले गीतसङ्गीत मार्फत् मनोरञ्जन गरिरहेका थियौँ । कसैले गीत गाउँदै थिए, कसैले वाध्यवादन बजाउँदै थिए ।
यत्तिकैमा हाम्रो टोलीभन्दा बाहिरका एक जना व्यक्ति खाना पाकेको सूचना लिएर आए । उनले साँझको फाइदा उठाएर सोमरस सेवन गरिसकेका रहेछन् ।
खाना पाकेको खबर सुनेपछि मैले भने– “पर्खनुस्” ।
मेरो आसय हाम्रो मनोरञ्जन कार्यक्रम चलिरहकाले केही मिनट प्रतिक्षा गरौँ भन्ने थियो ।
तर ती सार्थ भड्किहाले– “मलाई पर्खनुस् भन्ने ?”
उनले आफूलाई चेतावनी दिएकोजस्तो ठानेछन् कि क्या हो, उनी झन् चर्को चर्को स्वरमा कराउन थाले ।
सुरेन्द्र भण्डारीलगायतका साथीहरूले सम्झाउनुभयो– उहाँ भारतबाट आउनुभएको साथी हो । उहाँलाई यहाँको बोलीबारे केही थाहा छैन । उहाँको आसय त्यस्तो थिएन ।
तर ती साथी के मान्थे ? उनले भन्न थाले– “म पनि बम्बै घुमेर आएको मान्छे हुँ ।”
धेरै बेर खचपच भयो । उनलाई त्यहीँ कराउँदै छोडेर हामी खाना खान गयौँ । खाना खाएर आउँदा उनी त्यहाँबाट अन्तै गइसकेका थिए ।
“पर्खनुस्” शब्दको कारणले त्यस्तो खचपच भएकोमा हामी दुःखी थियौँ । उक्त शब्दले यतिविधि बबाल होला भन्ने अलिकति पनि लागेको भए हामीले उक्त शब्द किन प्रयोग किन गर्दथ्यौँ र ?
त्यतिखेर दुःख लागेको थियो, अहिले सम्झेर आउँदा भने हाँसो उठ्छ ।
................................................................
“खान नपाएकाहरू लाइन लाग”
२०६४ साल चैत्रको कुरा हो । म त्यतिखेर प्रथम संविधान सभा चुनावको प्रचारका लागि भारतबाट गुल्मी आइपुगेको थिएँ ।
त्यतिखेर गुल्मीको प्रत्यक्षतर्फको क्षेत्र नम्बर १ मा जीवन रानाले उम्मेदवारी दिनुभएको थियो । त्यतिखेर उहाँ राष्ट्रिय जनमोर्चा गुल्मीको अध्यक्ष पनि हुनुहुन्थ्यो ।
यस्ता कार्यक्रममा सांस्कृतिक टोलीसहितको लावालश्कर लिएर हिँड्ने हाम्रो प्रचलन पुरानै हो । हामीसित रक्तिम सांस्कृतिक अभियानका कलाकार, स्वयम्सेवक, स्थानीय नेतासहित मिलाउँदा सरदर २० जनाको नियमित टोली थियो ।
टोलीका लागि खाना हामी आफैले पकाउनुपर्ने अवस्था थियो । त्यस काममा धेरैजसो तिलक श्रीस खट्नुहुन्थ्यो । मेरो काम भने जानीनजानी भाषण गर्नु थियो ।
तिलकजीसहितका केही साथीले भाँडा, दाउरा, दालचामलको व्यवस्था गरेरै खानाको व्यवस्था गर्नुहुन्थ्यो । हामी पैदलै हिँडेरै जब खाना पकाउने ठाउँमा पुग्दथ्यौँ, तब थाकेका हुन्थ्यौँ । कहिले तिलकजीले खबर पठाउनुहुन्छ र खान पाइएला भन्ने व्यग्र प्रतिक्षामा हामी सबै हुन्थ्यौँ ।
ठिक ठिक ठाउँको नाम अहिले सम्झिन सकिएन । शायद हर्मिचौरमा हो कि जस्तो लाग्छ । खाना तयार भयो भन्ने खबर पाइयो, तिलकजीको तर्फबाट । सधैँ झैँ खानाका लागि लाइन लाग्नुपर्ने भयो ।
म र जीवनजी केही मिनटपछि खाने भनेर आँगनको छेउमा उभियौँ । जीवनजीको हाँसो गर्ने स्वभाव ।
उहाँले भन्नुभयो– “खान नपाएकाहरू लाइन लाग ।”
त्यसपछि त हातमा रित्तो ताल भएकाहरू थाल लिएरै हाँसे । हामी सबै हाँस्यौँ । तर भित्रभित्रै आशङ्का पनि ग¥यौँ, कसैको भावनामा चोट त पुगेन ? आखिर जीवनजीले “खान नपाएका” जस्तो शब्द प्रयोग गर्नुभएको थियो ।
जे होस्, चुनाव प्रचार अभियानभरि त्यस खालको गुनासो कसैले नगरेपछि हामी ढुक्क भयौँ, कसैले नराम्रो मानेका रहेनछन् भनेर ।
................................................................
हरियाणामा “बडे बडे पैखाणा”
मैले १० वर्षसम्म नयाँ दिल्लीबाट प्रकाशित हुने “विश्व नेपाली” साप्ताहिकमा सम्पादकको भूमिकामा रहेर काम गरेको थिएँ । तर सम्पादकीय मात्रै होइन, नयाँदिल्लीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उक्त केन्द्रीय कार्यालय भवनबाट निस्कने सो पत्रिकामा व्यवस्थापकीय कामसमेत गर्नुपर्दथ्यो ।
पत्रिका हुलाकबाट भारतभरि पठाइन्थ्यो । त्यसका लागि प्रत्येक शुक्रवार दिउसो २ बजेभित्र फरिदावादको सराय ख्वाजास्थित हुलाकमा पु¥याइसक्नुपर्दथ्यो ।
त्यहाँका कर्मचारीहरू सबै हरियाणी थिए । पत्रिका छोड्न जाँदा ती कर्मचारीसित कुराकानी भइरहन्थ्यो ।
एक पटक तीमध्ये एक जना हरियाणी कर्मचारीले मलाई सोधे– हरियाणा कुन वस्तुका लागि प्रशिद्ध छ, तपाईलाई थाहा छ ?
वास्तवमा मलाई त्यसबारे खासै जानकारी थिएन । मैले भने– “मालुम नहीं ।”
उनले कविताजस्तै वाक्यमा त्यसको जवाफ दिँदै भने–
हरियाणा
दूधदही का कारखाणा
यहाँ पर है
बड्डे बड्डे मैखाणा (शराबघर)
बड्डे बडे पैखाणा ।
“पैखाणा” को नाम सुन्दासाथ म पनि मजैले हाँसे । कारण– ठुला ठुला पैखाणा (चर्पी) त हुनै सक्दैनथे । बढीमा २०÷२५ जनाका लागि सुविधा भएको सार्वजनिक चर्पी हुन्थे हरियाणामा, त्यो पनि बसपार्कमा ।
प्रष्टै थियो, ती कर्मचारीले हँसाउनका लागि त्यो कुरा गरेका थिए ।
जब मैले केन्द्रीय कार्यालयमा आएर त्यो कवितावाक्य सुनाएँ, साथीहरूले पूरै वाक्य त सम्झन सकेनन्, खालि सम्झिए त त्यही, “बड्डे बड्डे पैखाणा” । पछिसम्म साथीहरूले मलाई सम्झाइरहन्थे– “हरियाणा... बड्डे बड्डे पैखाणा ।”
................................................................
का. अर्थात् “कान्स्टेबल”
घटना तत्कालीन माओवादीको सशस्त्र सङ्घर्ष सञ्चालन भएको समयको हो, जतिबेला म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) को पुरानो केन्द्रीय कार्यालय हर्केश नगर, ओखला (नयाँदिल्ली) मा थिएँ ।त्यतिखेर भर्खरै माओवादी समर्थित अखिल भारत नेपाली एकता समाजमाथि भारत सरकारले प्रतिबन्ध लगाएको थियो । त्यस क्रममा नोएडामा एकता समाजका चिन्तामणि भट्टराईलगायतका साथीहरूलाई माओवादी समर्थित भएको आशङ्कामा उत्तर प्रदेश प्रहरीले गिरफ्तारसमेत गरेको थियो ।
शायद सन् २००२ तिरको समय थियो होला । जयलाल शर्मा (उहाँ पछि बिरामी भएर केन्द्रीय कार्यालय बदरपुर बोर्डरबाट हराउनुभयो) र म केन्द्रीय कार्यालयमा थियौँ । त्यति नै खेर दुई जना प्रहरीहरू केन्द्रीय कार्यालय आइपुगे । उनीहरूले आफूहरू सोधपुछका लागि त्यहाँ आएको बताएका थिए ।
केही समय कुराकानी भयो । हामीले हामीहरू माओवादी समर्थित नभएको जानकारी गरायौँ । उनीहरूले धैर्यतापूर्वक हाम्रा कुरा सुने । पानी पिए ।
यत्तिकैमा उनीहरूको नजर भित्तातिर गयो । भित्तामा हरिलाल शर्मा र जलजलाको फोटो टाँगिएको थियो । फ्रेमसहितको फोटोमुनि लेखिएको थियो– “का. हरिलाल शर्मा”, “का. जलजला” ।
एक जना प्रहरीले सोधे– “यह का. क्या होता है ?”
अर्को प्रहरी उत्ति नै खेर जवाफ दिए– “कान्स्टेबल होता होगा ।”
हाम्रो मनमा हाँसोको झरनै फुटेको थियो । तर प्रहरीका अगाडि हाँस्ने कुरा भएन, न त तिनीहरूलाई “का.” को अर्थ “कामरेड” हुन्छ भनेर जानकारी दिनु नै उचित थियो, नत्र उनीहरूलाई हामीले पाँच/दश मिनटको प्रशिक्षण नै दिनुपर्ने हुन्थ्यो । त्यसका बाबजुद उनीहरू “कामरेड” को अर्थ बुझ्लान् भन्ने कुनै ग्यारेन्टी थिएन ।
धन्य हो ! प्रहरीको जेनरल नलेज । उनीहरूको शब्दकोश अरूको भन्दा पृथक् र स्वतन्त्र थियो । प्रहरी शब्दकोशमा त यस्तै हुन्थ्यो– का. अर्थात् कान्स्टेबल, ई. अर्थात् इन्स्पेक्टर, द. अर्थात् दरोगा, ह. अर्थात् हवल्दार, यस्तै यस्तै..... ।
................................................................
“बसमा कोच्चिएर कोही आजसम्म मरेको छैन"
२०७६ वैशाख २१ गते ।
साँझ ४ बजेको समय ।
काठमाडौंको रत्नपार्कबाट एकताबस्ती–निखिलेश्वर रुटको माइक्रोमा आउँदै थियौं ।
धुम्बाराही चोकमा आइपुग्दा आधाजति यात्रु ओर्ले । बाँकी सिटमा बस्नका लागि एक हुल यात्रु भित्र पसे । थोरैले सिट पाए, धेरैले पाएनन् ।
माइक्रोमा बसजसरी उभिनु सम्भव थिएन । यात्रुहरु खचाखच एकअर्कोको सहाराले उभिएका थिए ।
त्यत्तिकैमा एकजना किशोरले भने– “आज त मरिने भइयो ।”
अर्का किशोरले प्रत्युत्तर फर्काए– “चिन्ता नगर, मर्दैनस् । बसमा कोच्चिएर आजसम्म कोही पनि मरेको छैन ।”
नजिकमा भएकाहरु त्यो कुरा सुनेर मुसुक्क हाँसे । खुलेर हाँस्न त सिटमा भएकाहरु मात्र सक्थे । तर भिडका कारणले सुस्तरी भएको किशोर वार्तालाप सबैले सुन्न पाएनन् ।
.................................................................
तालीको रहस्य
घटना २०५६ सालतिरको हो । त्यति बेला म पूर्वी नेपालमा किसान मार्चको जिम्मेवारीमा थिएं ।
शायद झापातिर हो जस्तो लाग्छ, हामीले सभा सम्पन्न गरेका थियौं । केशव नेपाल हाम्रो प्रमुख नेता हुनु हुन्थ्यो । सुरेन्द्र भण्डारी, योगेन्द्र ढकाल, ओम श्रमिक लगायत हामी एक दर्जन जति साथीहरुको टोली बनेको थियो ।
झापाको सभामा धेरै पटक तालीको पर्रा छुट्यो । कतिपय बेला त कुनै महत्वपूर्ण भाषण नभएका बेला पनि ताली पड्कियो । हामीलाई आश्चर्य लाग्यो । हामीले त्यो कुरा बुझ्न सभा स्थलको वरिपरि अवलोकन गर्यौं ।
तब थाहा लाग्यो, दर्शकमध्ये एक जनाले सुर्ती खांदा रहेछन् । चुना मिसाएर ताली पड्काउंदा बांकी जनसमुदायलाई भाषणमा चित्त बुझेर ताली पड्काएको हो लाग्दो रहेछ । अनि, तालीको पर्रा छुट्दो रहेछ । सुर्ती खाने वरिपरिका मान्छे पनि ताली पड्किएपछि खुब मुस्कुराउंदै हास्दा रहेछन् ।
त्यो दृष्य देखेर हामीलाई मरी मरी हास्न मन लाग्यो । तर आयोजकको हैसियतले त्यति बेलै खुल्ला प्रकारले हास्न सकेनौं । फेरि पनि मुख थुनेर भने हास्यौं नै । पछिसम्म ताली पड्किएको सुन्दा त्यही घटना स्मरण भई रहन्थ्यो ।
.................................................................
ट्वाइलेटमा भगवान
यस्तो लाग्छ, सार्वजनिक ट्वाइलेटमा अश्लील शब्द लेख्नु पूर्वीय संस्कृति नै हो । तर हामी आफ्नो निजी ट्वाइलेटमा भने त्यस्तो अश्लील केही लेख्दैनौँ । यसैले बताउँछ, हामी कति सभ्य छौँ भनेर ।
प्रसङ्ग त्रिभूवन विमानस्थलभित्र डोमेस्टिकतिरको हो । त्यहाँ ट्वाइलेटका ढोकाको भित्री भागमा अश्लील लेख्ने संस्कृति छरप्रष्ट देखिन्छ ।
शायद त्यो शुभकार्य त्यहाँका कर्मचारी वा आगन्तुककै होला, जोसित बोर्ड मार्कर हुन्छ । कारण– त्यहाँका धेरै लेखाइ बोर्ड मार्करकै हुन्छ । त्यसो त डट्पेनले लेख्न पनि जाँगर नचलाइएको होइन ।
यस मामिलामा हवाइयात्रीलाई पूरै क्लिन चिट दिन सकिन्न । फेरि पनि उनीहरू ट्वाइलेटभित्र यस्ता कर्ममा इङ्गेज होलान्जस्तो लाग्दैन ।
डोमेस्टिक विमानस्थलको भित्री ट्वाइलेटको ढोकामा बोर्ड मार्करले लेखिएको छ– “भगवानले देख्छन्, त्यसैले नराम्रो कुरा नलेख साथी ।” कति राम्रो सुझाव ?
तर त्यसको प्रत्युत्तरमा त्यही ढोकामा रातो रङको डटपेनले लेखिएको छ– “ट्वाइलेटमा भगवान आउँदैनन् ।”
“कति हास्नु ?” ट्वाइलेटमा समेत हाँस्ने वातावरण खालि हाम्रै देशमा उपलब्ध छ । धन्य हो हाम्रो देश । यस्तो अवसर विकसित भनाउँदा देशमा पाइएला ?
.................................................................
सरदार भिनाजु
एयरपोर्टबाट सुकेधारातिर आउँदै थिए । म चढेको सार्वजनिक बस गौशाला चोकतिर हुइँकिरहेको थियो ।
गौशाला चौराहानजिकैको धर्मशालातिर बस मोडिँदै गर्दा दुई/तीन जना युवाहरूले हातले बस रोक्दै भने– “दिदी, रोक्नुस् न रोक्नुस ।”
बसको परिचालक महिला थिइन् । ती युवाहरूले भने पनि ठिक त्यही ठाउँमा बस रोक्नु सम्भव थिएन । केही मिटरअगाडि गौशालाको गेटनेरै बस रोकियो ।
हस्याङफस्याङ गर्दै ती युवाहरू बस चढे । अगाडि सिट खाली थिएन । पछाडि गएर ती युवाहरू बसे ।
सिटमा बस्नासाथ एक जना युवाले भने– “यिनी दिदीलाई दिदी भनेको पनि काम लागेन । यति वरसम्म डौडिनुप¥यो ।”
अर्काे युवकले भने– “भिनाजु सरदार रहेछन् नि त ।”
अझै अर्काे युवकले अलि अलि पंजाबी भाषा जान्दा रहेछन् । उनले भने– “पैन्दी ! ट्वाड्डे लिए बीच चौराहे में गड्डी रोकें ? भनेर भिनाजुले हप्काउनुभयो होला । अनि त दिदी पनि थर्थरी भइन् होला ।”
ती युवकहरूको कुरा सुनेर दायाबाया छेउमा बसेको यात्रीहरूको हाँसोको पर्रै छुट्यो ।
.................................................................
तालीको तालिम
सन् २००२ मा हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता सममाजको पाँचाँै अखिल भारत सम्मेलनको समय थियो । सम्मेलनको दोस्रो दिन विचारगोष्ठीको कार्यक्रम थियो । डा. ओम गुरुङको अध्यक्षता र सञ्चालनमा कार्यक्रम चलिरहेको थियो । शशिधर भण्डारी र समीर सिंहले कार्यपत्रमाथि टिप्पणी गर्ने कार्यक्रम थियो ।
कार्यक्रम रामै्रसँग चलिरहेको थियो । वक्ताका मन्तव्य, टिप्पणी सुनेर दर्शकहरू ताली पिटिरहेका थिए ।
म दर्शक दीर्घाको छेउमै बसेको थिएँ । मेरै छेउमा एक जना साथीले अरूले भन्दा बेग्लै प्रकारले र जोडले सुनिने गरी ताली पिटिरहेका थिए ।
यत्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तत्कालीन केन्द्रीय कोषाध्यक्ष जयबहादुर मल्ल घुम्दै त्यहीँ आइपुगे । मेरो अगाडि हुँदै उनी ती साथीछेउ पुगे र उनको कानमै मुख लगेर भने– “कति दिनको तालिम लिएको हो ।”
त्यसपछि त के थियो ? ती साथीको ताली बजाउने सिलसिला नै बन्द भयो । पूरै कार्यक्रमभरि उनले एक पटक पनि ताली बजाएनन् ।
त्यसपछि उनले ताली नबजाएको कुरा जयबहादुर मल्ललाई थाहा भयो कि भएन ? त्यो भने थाहा भएन ।
.................................................................
बाँदरको अनुशासन
हामीकहाँ कसैको चकचकलाई उल्लेख गर्नु प¥यो भने मानिसहरू पशुपतिको बाँदरको नाम लिन्छन् । तर त्यो कुरा सोह्रै आना गलत हो । त्यसको साक्षी म आफै हुँ । फोटोको रूपमा प्रमाण पनि मसित छ ।
एक पटक परिवारसहित हामी पशुपति घुम्न गएका थियौँ । सामान्यः मानिसहरू पशुपति घुम्न मुख्य मन्दिरतिरबाट प्रवेश गर्दछन् । तर हामी भने पछाडितिरको गुहेश्वरी मन्दिरतर्फबाट प्रवेश ग¥यो । हाम्रो कोशिस पशुपतिमा अहिलेसम्म नदेखेका संरचनाहरू देख्नु थियो ।
२०७२ सालको भूकम्पले गर्दा गुहेश्वरीलगायत थुप्रै मन्दिरमा क्षति पुगेको थियो । त्यसैले त्यतिखेर त्यहाँ विधिवतः पूजा भइरहेको थिएन । त्यही भएर हामीजस्ता नास्तिकलाई पनि गुहेश्वरी मन्दिरमा प्रवेश गर्न छुट मिल्यो ।
गुहेश्वरी मन्दिर घुमेपछि हामी उकालो लाग्यौँ र विश्वरूपा मन्दिर पुग्यौँ । विश्वरूपा मन्दिरमा पनि भूकम्पले प्रशस्त क्षति पुगेको थियो । उक्त मन्दिर हेरिसकेपछि हामी बाहिर निस्किियौँ ।
बाहिर एक ठाउँमा पानीको पाइप फुटेको रहेछ, त्यो पनि खानेपानीको । दिउसोको समय थियो । हामी शायद त्यो खानेपानीको पाइप हो कि भन्ने कुरा मनमा खेलाउँदै त्यता गयौँ ।
त्यहाँ एउटा बाँदरले पानी पिइरहेको थियो । हामी सावधान भयौँ । बाँदरलाई पानी पिउने बेला डिस्टर्ब नगरौँ भनेर हामी सबै त्यहीँ उभियौँ । त्यत्तिकैमा हाम्रो नजर अर्काे दृष्यतिर गयो ।
त्यहाँ त १५–२० वटा बाँदरहरूको लाइन थियो । हामी मगन भएर त्यो दृष्य हेरिरह्यौँ । एउटा बाँदरले पानी पिएर अगाडि बढ्थ्यो, अर्काे बाँदर अगाडि सथ्र्याे । अरू बाँदर अनुशासित रूपमा पालो पर्खन्थे । त्यसैगरी ती सबै बाँदरहरूले पालैपालो धैर्यतापूर्वक पानी पिए ।
त्यसपछि त मलाई मानिसप्रति नै धिक्कार भन्न मन लाग्यो । ब्यर्थैमा अरूको चरित्रहत्या गर्ने अधिकार मानिसलाई कसले दियो ? बाँदरका लागि न्यायिक व्यवस्था उपलब्ध हुने भने उनीहरूले मानिसका विरुद्ध पक्कै पनि मानहानीको मुद्दा हाल्ने थिए कि ? या पशु अधिकारकर्मीले यस विषयमा सोच्ने हो कि ?
.................................................................
जेब्रा क्रसिङमा हाँस
सबैलाई थाहा छ, दशैँतिहारमा काठमाडौँका सडकहरू यदि शिवजीले चाहने हो भने निर्धक्कसँग ताण्डव नृत्य गर्न सक्छन् । यदि कुनै विदेशी पर्यटक पहिलो पल्ट आयो, त्यो पनि दशैका बेला भने उसले भन्ने छ– काठमाडौँ सडकहरू यति चौडा किन बनाएको ? अझै तिनै पर्यटकलाई यो पनि थाहा हुन्थ्यो, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौँको सडक चौडा गरिएको थियो, तब उनीहरू डा. भट्टराईलाई फिजुलखर्चीसम्म भन्न बाँकी राख्दैनथे ।
यो त फरक प्रसङ्ग भयो । तर एउटा राम्रो कुरा के भएको देखिन्छ भने दशैँको छुट्टीले कतिपय पशुपन्छीलाई ट्राफिक नियम सिकाएको छ । त्यो पनि ट्राफिक प्रहरीको सहयोग बिना नै । त्यस्तै एउटा दृष्य देख्न पाइयो, पुतलीसडकमा । दशैँको सुनसान सडकमा एक जोडी हाँसले सावधानीपूर्वक जेब्रा क्रसिङबाट बाटो पार गरेका थिए । सडक पार गर्नुभन्दा पहिले उनीहरूले दायाबाया हेरे, अनि अगाडि बढे । नपत्याए यो दृष्य हेर्नुस् ।
अर्काे कोणबाट हेर्ने हो भने हाँसहरूले काठमाडौँवासीप्रति आलोचना गरेका छन् । उनीहरू बिना आवाज भनिरहेका छन्– हामीलाई त ट्राफिक नियम थाहा छ भने मनुखेले नियम उल्लङ्घन गर्दछ ? त्यो पनि मनुखेले नै सम्झाउँदा सम्झाउँदै ।
अर्कातिर हामीलाई शङ्का लागिरहेको छ, कतै हाँसले यी मानिसहरू सधैँका लागि नभइदिए हुन्थ्यो भनेका त छैनन् ? पक्कै पनि उनीहरूले यस्तो मुर्खतापूर्ण सोचाइ राखेका छैनन् होला भनेर भन्नुस् । किनकि उनीहरूलाई पनि थाहा हुनुपर्दछ, मान्छे नै भएनन् भने चिल्ला सडक कहाँबाट पाउनु ? अर्कातिर, हाँसजस्ता घरपालुवा पन्छीलाई अनिकालको सामना गर्नुपर्ने छ । उनीहरूले भारतबाट आयातित बासमती चामलको सिता कहाँबाट खान पाउनु ? त्यसपछि त उनीहरू फेरि जङ्गलतिर फर्कनुपर्ने छ । यो अवस्थामा उनीहरूका अगाडि दुई वटा विकल्प छ : बासमती चामलको सिता खाँदै दशैँको छुट्टीमा चिल्ला जेब्रा क्रसिङ हुँदै हाइकिङ गर्ने या फेरि जङ्गली युगतिर फर्कने ।
हामीलाई लाग्छ– हाँसहरूले पहिलो विकल्प नै रोज्लान् ।
.................................................................
ढिडो रेस्टुरेन्ट
“ढिडो रेस्टुरेन्ट ।”
सहरमा आजभोलि यो नाम थुप्रै ठाउँमा पाउन सकिन्छ । त्यसो त यो नाममा कुनै पनि प्रकारको अनौठोपना छैन ।
तर कल्पना गर्नुहोस्, गाउँघरमा निममित ढिडो खाइरहेको साक्षर व्यक्ति जब सहर छिर्छ र देख्छ– “ढिडो रेस्टुरेन्ट”, तब उसको मथिङ्गलले यसबारे के प्रतिक्रिया देला ?
“ढिडो रेस्टुरेन्ट” अर्थात् ढिडो पाक्ने रेस्टुरेन्ट ।
यहीँनेर जोसुकैले प्रश्न उठाउन सक्छ, ढिडो पाक्नेजति सबै भान्सालाई “ढिडो रेस्टुरेन्ट” मान्न सकिन्छ ?
पक्कै पनि मान्न सकिन्न ।
त्यसो हो भने “ढिडो रेस्टुरेन्ट” नाम किन राखेको त ?
कुरालाई यतिविघ्न नबङ्ग्याइकन सिधै प्रस्तुत गर्न सकिन्छ; यसरी :
ढिडो हाइब्रिड अर्थात् वर्णशङ्कर हुँदैन । आजसम्म हाइब्रिड कोदो अस्तित्वमा आइसकेको छैन । सत्य हुन सक्छ, भविष्यमा कोदोको पनि हाइब्रिड स्वरूप आइसक्ला । तर हालसम्म कोदोको हाइब्रिड कोदो आइसकेको छैन ।
अर्को कुरा, कोदोमा विषादि प्रयोग गरिँदैन; अर्थात् कोदोको खेती गर्दा मल र किटनासक औषधि प्रयोग गरिँदैन ।
यसको सम्भावनाको बारेमा पनि माथिकै कुरा भन्न सकिन्छ– भविष्यमा विषादि र किटनासक औषधि प्रयोग गरिएला । तर अहिलेसम्म प्रयोग गरिसकिएको छैन ।
यस अर्थमा ढिडो अर्गानिक खाद्य पदार्थ हो र यस्तै अर्गानिक खाद्य पदार्थ पाक्ने भान्सा त्यहाँभित्र पाक्ने भएकाले “ढिडो रेस्टुरेन्ट” शीर्षक जुराइयो होला ।
यद्यपि “ढिडो रेस्टुरेन्ट” नामकरण नगरिएका रेस्टुरेन्ट÷होटलमा पनि ढिडो पाक्दछन् । तर यस्ता ठाउँमा प्रष्ट देखिने गरी लेखिएको हुन्छ– ‘यहाँ ढिडो पकाइन्छ ।’
अथवा यस्तै यस्तै अरू पनि लेखिएको हुन सक्दछ– “यहाँ ढिडो र गुन्द्रुकको परिकार उपलब्ध छ”, “यहाँ ढिडो र खसीको मासु पाइन्छ”, “यहाँ ढिडो र माछाको परिकार पाइन्छ,” आदि आदि ।
यस सन्दर्भमा मेरो सुझाव छ– जहाँ यसरी व्याख्या गरेर सूचना लेखिएका छन्, ती ठिक छन् । तर जहाँ “ढिडो रेस्टुरेन्ट” लेखिएका छन्, त्यहाँ पनि माथिका सूचना उपशीर्षक बनाएर लेखिनुपर्दछ ।
आखिर सूचना प्राप्त गर्नु आम नागरिक हक हो भन्ने तथ्यलाई कसले अस्वीकार गर्न सक्छ ?
No comments:
Post a Comment